- देवराज यादव

भण्टाबारी। सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसमा रहेका सबै यात्रुको सकुशल उद्धार भएको छ ।बसका चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

उनका अनुसार चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ । प्रहरीका अनुसार उनी सकुशल छन् बसमा चालक, सहचालक र यात्रुसहित १७ जना रहेको र सबैको सकुशल उद्धार भएको जानकारी डीएसपी न्यौपानेले दिए ।

सबै जनालाई उद्धार गरेर उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको उनले बताए । उनका अनुसार दुर्घटनामा मानवीय क्षति हुन पाएन ।नदीमा खसेको बसका यात्रुको सकुशल उद्धार गर्न स्थानीय र प्रहरी सफल भएको र उद्धार गरिएकाको अवस्था सामान्य रहेको न्यौपानेले बताए ।

उनले घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।उनका अनुसार विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नर्सिङ डिलक्स बस कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट साँझ ६ः१० बजेतिर सप्तकोशी नदीमा खसेको थियो ।

आफैं अनियन्त्रित भएर बस खसेको स्थान सप्तरीमा पर्छ ।सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट बस नदीमा खसेको जानकारी न्यौपानेले दिए । ‘विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आफैं अनियन्त्रित भएर नदीमा खसेको रहेछ,’ उनले भने, ‘ब्यारेजको ३५ नम्बर ढोकादेखि दक्षिणतर्फको साइडबाट बार भत्काउँदै बस नदीमा खसेर दुर्घटना भएको हो ।’ दुर्घटनाको कारण थप अनुसन्धानपछि पत्ता लाग्ने उनले बताए बस भने अहिले पनि नदीमै रहेको र बाहिर निकाल्ने प्रयास भइरहेको न्यौपानेले बताए ।

सप्तरी र सुनसरीबाट खटिएका प्रहरी तथा स्थानीय उद्धारमा सक्रिय भएर लागेका थिए । यसअघि सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले नदीबाट २० जनाको उद्धार गरिएको बताएका थिए ।

सप्तरी र सुनसरी प्रहरीले उपलब्ध गराएको उद्धार गरिएकाको संख्या मिलेको छैन । सुनसरी प्रहरीले २० र सप्तरी प्रहरीले १७ जनाको उद्धार गरिएको जनाएका छन् । घटनाबारे थप अनुसन्धान र यकिन भैरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia