भण्टाबारी। सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारी क्षेत्रमा लागूऔषध नियन्त्रण गर्न निगरानी कक्ष स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय कोशी प्रदेशको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरी सीमामा निगरानी कक्ष स्थापना गरेको हो ।
सो लागूऔषध दुव्र्यसनी निगरानी कक्षको एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक भिमबहादुर दाहालले उद्घाटन गर्नुभएको हो ।
उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दाहालले पछिल्लो समय खासगरी सीमावर्ती क्षेत्रमा लागूऔषधको समस्या विकराल रुपमा देखिएको हुनाले यसलाई न्युनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेशभरीकै सीमावर्ती क्षेत्रमा निगरानी कक्ष स्थापना गरिएको बताउनुभयो ।
लागूऔषध नियन्त्रण गर्न स्थापना गरिएको निगरानी कक्ष लाभदायक हुने विश्वास व्यक्त गर्दै दाहालले लागूऔषध दुव्र्यसनी न्युनिकरण तथा नियन्त्रण गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
कोशी गाउँपालीका वडा नम्बर ८ स्थित ईलाका प्रहरी कार्यालय भण्टाबारीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख बिपिन रेग्मीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारी, बिओपी हरिपुर हाल प्रस्तावित सीमा सुरक्षा गुल्म भण्टाबारीका प्रमुख सन्तोष अधिकारी, ईलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज वरिष्ठ सई जालन्धर बराल, ईलाका प्रहरी कार्यालय लौकहीका प्रमुख यदु खड्का, प्रहरी चौकी कोशी ब्यारेजका प्रमुख सुभाष चन्द्र सुनुवार, कोशी गाउँपालीका न्यायिक समिति सदस्य कमरुद्दिन मियाँ र पत्रकार लगायत को उपस्थिति रहेको थियो ।