सुनसरी। सुनसरीको कोशी गाउँपालिकाका वडा अध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कोशी गाउँपालिका–७ का वडा अध्यक्ष लालदेव सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय मुनेश्वर शर्मा पक्राउ परेका हुन् ।
वडा अध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता नवीनकृष्ण भण्डारीले पुष्टि गरे शर्मालाई सोमबार नै नियन्त्रणमा लिएको भए पनि वडा अध्यक्ष सदाले मङ्गलबार मात्रै प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा पक्राउ गरिएको डिएसपी भण्डारीले पुष्टि गरे । आरोपित शर्मालाई आज (बुधबार) जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिने डिएसपी भण्डारीले जानकारी दिए । कोशी क्षेत्रका नेकपा (माओवादी केन्द्र) का अगुवा कार्यकर्ता समेत रहेका आरोपित शर्माले आफू वडा अध्यक्ष भएको भन्दै राष्ट्रिय भूमि आयोगको ढाँचाअनुसार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने विपन्न समुदायको लगत सङ्कलन फारममा वडा अध्यक्ष सदाको कीर्ते हस्ताक्षर गरेको आरोप छ ।
कोशी गाउँपालिका–७ को वडा अध्यक्षमा निर्वाचित सदा पनि नेकपा (माओवादी केन्द्र) बाट टिकट पाएर जितेका हुन् । २७ वर्षको उमेरमा दलित समुदायबाट वडा अध्यक्षमा निर्वाचित सदा कोशी प्रदेशकै कान्छो वडा अध्यक्ष समेत हुन्। आफ्नो हस्ताक्षर कीर्ते गर्ने व्यक्तिउपर कानून बमोजिम कारबाही हुनुपर्ने भन्दै सुनसरी प्रहरीमा जाहेरी दिएको वडा अध्यक्ष सदाले बताए । आफू निर्वाचित भएपछि वडाबासीको सल्लाह सुझावअनुसार कानूनले दिएको अधिकार प्रयोग गरी निष्पक्ष तवरबाट सेवा दिँदै आएकोमा यस्तो घटनाबारे थाहा पाउँदा निकै दुःखी भएको उनले बताए।