इटहरी । पक्राउ पर्ने कार्यकर्ता प्रहरीले छाडेपछि पहिचान पक्षधरले भोलीबाट कोशी प्रदेशमा घोषणा गरेको अनिश्चितकालिन आमहड्ताल फिर्ता लिएको छ । आफ्ना २६ जना नेता कार्यकर्तालाई प्रहरीले मुद्दा चलाउने तयारी गरेपछि पहिचान पक्षधरले बुधबारबाट अनिश्चितकालिन आमहडताल घोषणा गरेको थियो । प्रहरीले पक्राउ परेका २६ जनालाई छाडेपछि हडताल फिर्ता भएको हो ।
पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले आमहड्ताल फिर्ता भएपनि प्रदेशसभा केन्द्रीत आन्दोलन जारी रहने बताए ।मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा अधिकारी र आन्दोलनरत पक्षका प्रतिनिधिबीच छलफल भएको थियो । सो छलफलमा प्रशासनले पक्राउ परेकालाई छाड्ने र आन्दोलनकारीले हडताल फिर्ता लिने सहमति भएको हो ।छलफलले आन्दोलनरत पहिचान पक्षधरको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति पनि गरेको छ ।गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छ ।
मंगलबार भएको छलफलमा शान्तिपूर्ण कार्यक्रमहरू सञ्चालन गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका पहिचान पक्षधरलाई छाड्ने सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।सहमति पछि पक्राउ परेका २६ जना छुटेका छन् ।आइतबार प्रहरीले ८६ जनालाई पक्राउ गरेको थियो । ति मध्ये ६० जना सोही दिन राति छुटेका थिए । २६ जनालाई भने मुद्दा चलाउने भन्दै प्रहरीले छाडेको थिएन् । आन्दोलनरत पक्षसँगको छलफलमा प्रशासनले प्रदर्शनकारी छाड्ने र आन्दोलनरत पक्षले आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति भएपछि पक्राउ परेकाहरू छाडिएका हुन् ।