बाजुरा । कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ग्रामीण क्षेत्रमा अहिले पनि खलो प्रथा कायमै रहेकाे छ । दिनभरी काम गरेर पनि सन्तोषजनक परिश्रमको फल नपाइने भनेकै खलो प्रथा हो । यसले गर्दा आम नागरिकमा पेशाप्रति कम विश्वास हुन्छ । विशेष गरी दलित समुदाय र दमाई परिवारमा यसको प्रभाव पर्ने गरेकाे छ । यो उदाहरणले प्रस्ट पार्ने गर्छ स्वामिकार्तिक खापर गाउँपालिका-४ की राधिका दमाईले परम्परागत खलो व्यवसायमा सिलाई गर्दै आएको १६ वर्ष भन्दा बढी भएकाे छ ।

राधिकासँगैका साथीहरुले केही संस्थाहरुबाट सिलाई कटाई सम्बन्धी तालिम लिएर कहिले व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । तर राधिकाले भने अहिले पनि दिनभरी स्थानीय भाषामा रिथी भनिने साहुका कपडा सिलाए बापत खलोमा नै चित्त बुझाएकी छन् । नत उनले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिएकी छन् । नत उनलाई घरपरिबार नै चलाउन सजिलो भएको छ । अझै भन्ने हो भने उनको आफ्नो जग्गा पनि छैन । अहिले रिथिको काम गर्दा दिएको स्थानीय भाषामा बर्सिगो पाएको जग्गामा घर बनाएर बस्ने गरेपनि दैनिक छाक टार्न समेत समस्या हुने र सामान्य बिमारी हुँदा समेत उपचार गर्न समस्या हुने गरेको उनको गुनासो छ ।

देशमा पटक-पटक ब्यवस्था परिवर्तन भयो । तर खलियाको अवस्था र जीवन कहिले परिवर्तन हुन सकेन साहुको दैनिक ज्याला मजदुरी गर्नु पर्ने समस्याबाट खलिया समुदायले कहिल्यै मुक्ति पाउन सकेनन् । राधिका त एक प्रतिनिधि पात्र मात्रै हुन् । राधिका जस्तै थुप्रै खलियाको यस्तै समस्या छ । साेही गाउँपालिका-४ की दर्शना नेपालीका बुबाले ३० वर्षसम्म खलो व्यवसायमा काम गर्दै जीवन बिताए । उनले साहुको घरमा काम गरेर नै छोराछोरीलाई पढाईलेखाई गराए । दर्शनाले उच्च माद्यमिक विद्यालयसम्मको शिक्षा पास गरेकी छन् । तर पनि काम नपाउदा उही पू्र्खाको काम र पेशालाई निरन्तरता दिनुपर्ने उनको बाध्यता रहेकाे छ ।

बुढीनन्दा नगरपालिका-६ का साैरे दमाई भन्छ्न्,-‘अहिले पछिल्लो अवस्थामा अन्य समुदायका मानिसहरुले पनि सिलाईकटाई गर्न थालेपछि आफ्नो पूर्खेउली पेशा र पुरानो तरिकाको सिलाईले ठाउँ पाएन । आधुनिक सिलाईकटाई सिक्ने अवसर मिलेको भए परिवारको दैनिकी चलाउन सहज हुने थियाे।’

उता बाजुरामा पनि करिब ७ सय भन्दा बढी हलिया परिवार रहेको अनुमान गरिएको छ । तर पनि यस्ता हलियाप्रति राज्यको ध्यान छ । नत स्थानीय सरकारको ध्यान पुग्न सकेको छ। सरकारले प्रत्येक नागरिकलाई रोजगारसँगै गास, बास र कपासको व्यवस्था गर्ने भने पनि यो पेशा संकटमा परेपछि धेरै नागरिक बेरोजगारी र भोकमरीमा बस्नु पर्ने बाध्यता रहेको छ ।

परम्परागत चलेको खलो प्रथालाई आत्मसाथ गर्दा नत यसले मानिसको जीवनस्तर उकास्न सफल भएको छ । नत मान सम्मान नै पाएको छ । प्रत्येक स्थानीय तहकाे सरकारले खलो प्रथासँग सम्बन्धित सबैलाई सीपको व्यवस्था गरेर उनीहरुलाई व्यवसायतर्फ उकास्न सके देशमा भएको बेरोजगारीलाई कम गर्न सकिन्थ्यो कि ? बाजुरा जस्तो अति बिकटको विम्ब मानिने जिल्लामा सबैले बिशेष प्रकारको सीपको व्यवस्था गरेमा यहाँबाट विदेशिने युवाको संख्यामा कम हुने देखिन्छ । अझै पनि गाउँघरमा खलियो प्रथामा आवद्ध भएका पेशा भनेर चिनिने सिलाईकटाई र आरन व्यवसायलाई सरकारले विशेष जोड दिएर काम गर्दा केही युवाहरुले देशमा नै रोजगारी पाउने थिए । दैनिक रूपमा विदेशिने युवाको संख्या पनि कम हुने थियाे ।

आगामी दिनमा बाजुराका प्रत्येक स्थानीय सरकारले खलिया व्यवसाय गर्दै आएका समुदाय र मानिसहरुलाई यो पेशाबाट हटाउनका लागि विशेष कार्ययोजना बनाउँदा यो पेशालाई मर्यादित बनाउन सकिन्छ की ? खलो व्यवसायबाट कसैको पनि जीवनस्तर माथि उठाउन पनि निकै कठिन परिरहेको छ ।अझ त बालबालिकालाई शिक्षा दिन पनि मुस्किल परेको छ ।सरकारले खलो प्रथालाई अन्त्य गरी यसलाई व्यवसायमा परिवर्तन गर्नु जरूरी छ । जसले गर्दा सिलाईकटाई पेशाप्रति सबै वर्ग र समुदायका मानिसलाई आकर्षित गरेर रोजगारी प्रदान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia