रुपन्देही । रातको समयमा महेन्द्र राजमार्गमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिपर र सो टिपरको चालकलाई प्रहरीले २४ घण्टाभित्र पक्राउ गरी नियन्त्रणमा लिएको छ । यहीँ फागुन १२ गते रातको ११:४५ बजे रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको वडा नं ८ सुर्यनगर स्थित पुर्वपश्विम महेन्द्र राजमार्गमाको छेउमा एक जना पुरुष चोटपटक लागि गम्भीर घाइते भई लडिरहेको अवस्थामा भेटिए । प्रहरीमा उक्त खबर पुगेपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले टाउकोमा गहिरो चोट लागी गम्भीर घाइते रहेका पुरुषलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पठायो ।

उपचारकै क्रममा एक्लै पैदल हिँडिरहेका पाल्पा जिल्ला रैनादेवी छहरा ८ घर भएका ३१ वर्षीय पुरन पेग्नी मगरलाई ठक्कर दिएको खुले पनि ठक्कर दिने सवारी पत्ता लागिसकेको थिएन । तत्पश्चात् इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी स्थलगत रूपमा खटिई अनुसन्धान गर्दा ६ चक्के टिपरले ठक्कर दिएको देखियो । पछि थप अनुसन्धानकै क्रममा उक्त टिपर पहेँलो रंगको भएको र महेन्द्र राजमार्गबाट भित्री सडक खण्डमा गई फरार रहेको विभिन्न सिसिटिभी फुटेजमा देखिएपछि प्रहरीले उक्त टिपरको खोजी जारी राख्यो । टिपरको खोजी गर्दा अर्को दिन दिउँसो मात्र सैनामैना नगरपालिका ७ आमी भन्ने स्थानमा घर पछाडिको भागमा उक्त टिपर फेला पर्‍यो । प्रहरीले २३ वर्षीय टिपर चालक धन बहादुर थारुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका टिपर चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखी सवारी अंगभंग मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालले केटिएम दैनिकलाई बताए । घाइते मगरको टाउकोमा गहिरो चोट देखिएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia