म्याग्दी । रत्नेचौर गाउँ बेनी र बागलुङको बीचमा रहेकाे छ । म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने यो गाउँ भूपि शेरचन राजमार्गको सुविधा सम्पन्न गाउँ हो । उत्तरतिर हेर्दा चाँदी झै टल्किने सेता हिमशृङ्खलाहरू रहेका छन् । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेंलै भएर फुलिरहेको तोरी र फाँटकोबीचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।
पहेलै फुलेको ताेरीको बीचबीचमा हुर्कदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीड-भाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ, तोरीको सौन्दर्यमा युवायुवती, सर्वसाधारणहरु टिकटक बनाउन र नाच्दै रमाउन व्यस्त भएका छन् ।रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्ड अन्तर्गत ९ सय मिटरको कालोपत्र सडकको दायाँ र बायाँतर्फ लमतन्तै परेको खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमीमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौं पर्यटकहरु आउने गरेको स्थानीयवासी समेत रहनुभएका भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयाे ।बागलुङको मुलपानीबाट रत्नेचौरको तोरीबारी घुम्न आउनुभएकी सरिता गौतमले टिकटक लगायत सामाजिक सञ्जालमा दैनिक जसो तोरीबारीको भिडियो र तस्बीर देखेपछि घुम्न आएको बताउनुभयाे । इमेजखबरको सहयोगमा