इनरुवा।कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको बिकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनु भएको छ । दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको बताउनु भएका कार्कीले जसरी भएपनि संसदबाट पास गराउन आवश्यक रहेको बताउनु भयो । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष हातामा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटनको क्रममा मन्त्री कार्कीले त्यस्तो धारणा राख्नु भएको हो ।
सम्बोधनका क्रममा मन्त्री कार्कीले एमसीसी बिकास परियोजना भएकाले समेत त्यस विषयमा राजनीति गर्नु नहुने बताउनु भएको छ ।एमसीसी परियोजना मुलुकको समृद्धि सँग जोडिएको विषय भएको बताउनु भएका कार्कीले संसदबाट पास गराउन सबैबिच सहमतिको खाँचो औल्याउनु भयो । एक फरक प्रशंगमा कार्कीले रोकिएको बजेट केहि दिन भित्रै पास हुने समेत बताउनु भएको छ । कार्कीले ४ गते बस्ने संसद बैठकले सो विषय अघि बढाउने बताउनु भयो ।
संसद भित्रको गतिरोध हटाउने विषयमा केपी ओलीसँग छलफल जारी रहेकाले समेत केहि दिन भित्रै राजनीतिक निकाश निस्कने वहाँले विश्वास व्यक्त गर्नु भयो । कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट स्थापना भएको कार्यालयले मानव– वन्यजन्तु द्धन्द्ध व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा.प्रेम नारायण कंडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक कुमार खराल सहित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।