इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पुर्याउने बताएका छन् । नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैत सम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए ।
मन्त्री कार्कीका अनुसार नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकारमाथि जनताको ठूलो अपेक्षा र भरोसा रहेको छ । अहिलेको सरकारको प्रमुख दायित्व नै जनताको जीउधन, संविधान, लोकतन्त्र रक्षा गर्नाका साथै शान्ति अमनचयन कायम गर्नु नै रहेको मन्त्री कार्कीको कथन छ। कार्यक्रममा समाजसेवी मौलान हारुन खाँसहित व्यक्तिले विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य तथा मन्त्री कार्की, पार्टीका जिल्ला सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजीव कोइराला, सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष एयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायत नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए ।