राजविराज। मैथिली साहित्य परिषद् राजविराजले मैथिली भाषाका महाकवि विद्यापतिको स्मृतिमा बुधवार आयोजना गरेको सभालाई सम्वोधन गर्दै प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मैथिली भाषाको संरक्षण एवम् सम्मानजनक स्थान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
देशमै नेपाली पछि सर्वाधिक बोलिने मैथिली भाषाको आफ्नै प्राचीन इतिहास रहे पनि विगतमा विभेद हुँदै आएकोले यसको अपेक्षाकृत विकास हुन नसकेको बताउँदै प्रमुख अतिथि साहले भने ‘मैथिली भाषाको संरक्षण एवम् सम्मानजनक स्थान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध छ, प्रदेश सरकारले भाषा, साहित्य एवम् कला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनकालागि बोर्ड गठन गर्ने तयारी गरिरहेको छ ।’
मैथिली लगायतका मातृभाषामा पठन–पाठन कार्यलाई प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाउने उनले बताए । प्रदेश मन्त्री साहले प्रदेशको नामांकरण र भाषाको विषयमा बृहत अध्ययन एवम् जनभावना बुझ्नकालागि समितिले काम अगाडि बढाएको चर्चा गर्दै प्रतिवेदनको आधारमा आफुहरु अगाडि बढ्ने समेत बताए ।
परिषद्का अध्यक्ष अशोक कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सांसद शिवचन्द्र मिश्र, परिषद्का पूर्व अध्यक्ष विवेकानन्द मिश्र, पूर्व प्राचार्य नथुनी दास, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, गायिका कञ्चन झा, सुषमा झा लगायतले महाकवि विद्यापतिको योगदानबारे चर्चा गरे । सोही अवसरमा अवसरमा मैथिली भाषा, साहित्यको संरक्षणमा योगदान पुर्याउने प्राध्यापक उमाकान्त झा, प्राध्यापक भोला झा, पूर्व प्राचार्य नथुनी दास र संगीतकार शैलेन्द्र विश्वकर्मालाई शिवदत्त मिश्र स्मृति पुरस्कारद्वारा सम्मानित गरिएको छ ।
विद्यापति स्मृति पर्व समारोहको अघिल्लो दिन आयोजित मैथिली अनुवाद प्रतियोगितामा विजेता घोषित भएका छात्रछात्राहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ । सभामा स्वागत मन्तव्य उपाध्यक्ष सतिश कुमार दत्त तथा सञ्चालन सह–सचिव रामअधिन साहले गरे ।
यस अघि परिषद्द्वारा नै पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट निकालिएको झाँकी राजविराजको विभिन्न भाग परिक्रमा गरेको थियो । मिथिलाको कला संस्कृति झल्कने भेषभुषासहितको झाँकी मैथिली भवनमा पुगेर सभामा परिणत भएको थियो । झाँकीमा शिब ईन्टरनेशनल बोर्डिङ्ग स्कूलका छात्रछात्राहरुले सहभागीता जनाएका थिए केशो अनिरुद्धवत्ती माध्यमिक विद्यालय सहितका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।