किरात राई जातिको मौलिक संस्कार, सँस्कृति, रितीरिवाजमा आधारित चलचित्र ‘यारी’ धरानमा प्रदर्शन गरिएको छ । किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीको आयोजनामा धरानको गणेश टाकिजमा यारी प्रदर्शन भएको हो । बीरबहादुर राई (युवराज) को लेखन, छायांकन तथा निर्देशनमा बनेको फिल्ममा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ ।
चलचित्र विकास बोर्डबाट ०७४ सालमा सम्मानित चलचित्र यारीको अर्थ किरात राईमा भविष्यवाणी रहेको यारीका निर्देशक राईले बताए । गाउँमा आउने विकासले सँस्कार तथा संस्कृतिलाई मेट्ने प्रयास गरेकाले चलचित्रमा त्यसलाई इंगित गर्न खोजिएको निर्देशक राईले बताउनुभयो । चलचित्रमा राईहरुको कला, भेषभुषा, संस्कार, संस्कृतिलाई प्राधमिकता दिएकोले चलचित्र राम्रो वनेको दर्शकहरुले प्रतिक्रिया दिए ।
भोजपुर, खोटाङ र सोलुखुम्बू जिल्लाको विभिन्न ग्रामिण भेगमा छायांकन गरिएको यारीमा निर्भिक राई, विस्मिता राई, श्याम राई जाइका राई लगायतको अभिनय छ । डक्टर किरात र पदम राईको संगित रहेको चलचित्रको पाश्र्व गायनमा रुपकुमार राई, मेलिना राई, निश्चल राई ,भिषण राई र सुनिता थेगिम रहेका छन् ।
जनक राईको नृत्य निर्देशन रहेको चलचित्र हेर्नको लागि धरान देखि इटहरी सम्मका दर्शक आएको आयोजक संस्थाका अध्यक्ष चन्द्र बान्तावाले बताउनुभयो । चलचित्र प्रदर्शनीमा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष तीलक राई, नेपाल चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राई, किरात राई सांस्कृति कलाकार संघका केन्द्रीय उपाध्यक्षद्वय रामकर राई र शालिक सतासक राई लगायतको उपस्थिती रहेको थियो ।