अमर काफ्ले ईनरुवा, १९ असोज । भारतले नेपालमा लगाएको नाकाबन्दीको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका छन् । साथै नेपालस्थित विकासका स्थानीय साझेदारहरु रहेका उनी(देश)हरुले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवम् वितरणको व्यवस्था मिलाउन नेपालले भारतसँग गरेका प्रयासको समर्थन गरेका छन् ।
युरोपेली सङ्घ, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, संयुक्त अधिराज्य, नर्वे र स्विट्जरल्यान्डका नेपालस्थित काठमाडौंमा रहेका नियोगका प्रमुृखहरूले आज संयुक्त रुपमा एक वक्तव्य जारी गरी अहिलेको असहज अवस्थाबाट तराई र अन्य क्षेत्रका अत्यन्त निर्धन वर्ग प्रभावित भएका बताउनुभएको छ ।
अस्थायी आवासको जोहो र सन्निकटको शिशिर याममा आफूलाई अनुकूलन तुल्याउन सर्वसाधारणलाई अत्यावश्यक सामग्रीको आवश्यक परेको भन्दै वक्तव्यमा उहाँहरूले अहिलेको असहज परिस्थितिको शीघ्र अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ ।
उत्तरदायित्व र सहमतिको भावनाका साथ थालिएको वार्तालाई परिणाममुखी तुल्याउन उहाँहरूले सम्बद्ध सबैलाई प्रोत्साहन गर्नुभएको छ । साभार : पुर्वेली न्युज