काठमाडौं– गएको २७ साउनमा काठमाडौंको खुद्रा बजारमा प्रतिकिलो प्याजको मूल्य ७५ रुपैयाँ थियो । त्यसको ठीक ५१ दिनपछि आइतबार भने प्रतिकिलो प्याजको मूल्य एक सय १५ रुपैयाँ छ । यो ५१ दिनमा करेला पनि प्रतिकिलोमा ५७ रुपैयाँले बढ्यो । बिहान बेलुका भान्सामा नभई नहुने आलु, बन्दा, काउलीलगायत तरकारीको मूल्य पनि अत्यधिक बढेको छ ।
विगत ५२ दिनदेखि तराईमा जारी आन्दोलनका कारण उत्पादित तरकारी पर्याप्त रुपमा बजारसम्म पुग्न पाएको छैन । बजारमा तरकारीको माग बढी छ र मूल्य अकासिएको छ ।थरुहट प्रदेशको माग गर्दै पश्चिम तराईमा २७ साउनबाट आन्दोलन सुरु भएको थियो । त्यसयता बजारमा तरकारीको मूल्य चर्किएको छ भने लगातारको बन्द र नाकाबन्दीका कारण किसानको बारीमा तरकारी कुहिन थालेका छन् । ‘बजारमा १५ देखि २० प्रतिशतले तरकारीको मूल्य बढेको छ,’ नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘तर, किसानका बारीमा यो बेला तरकारी उठाउन नसक्दा करोडौँको तरकारी कुहिएको छ ।’vegetable
कालिमाटी तरकारी बजार विकास समितिका अनुसार प्रतिकिलो ठूलो गोलभेडा १८ रुपैयाँ, रातो आलु २८, सेतो आलु २५, प्याज ५३, गाजर ४०, बन्दामा २२, स्थानीय काउलीमा २२, मुला २५, लामो भेन्टा २८, केराउ ३०, करेला ५७, लौका २८, परबल १४,

चिचिन्डो ३२, फर्सी आठ, भिन्डी ५४, कर्कलो १८ रुपैयाँले महँगिएको छ । त्यस्तै, प्रतिकिलो कुरिलो ४८ रुपैयाँ, निउरो १२ रुपैयाँ, सोँफ ९२ रुपैयाँ, रातो काउली १० रुपैयाँ, पुदिना १० रुपैयाँ, सलगम १२, गुन्द्रुक १३, सुकेको खुर्सानी १३, क्याप्सिकम ५३, लसुन ७६, धनियाँ ८०, नेपाली लसुन २० रुपैयाँले महँगिएको छ । बजारमा तरकारीको आपूर्ति ४० प्रतिशत कम छ । व्यवसायीले सामान मगाउन सकिरहेका छैनन् भने किसानले उत्पादित सामान बजार पठाउन सकिरहेका छैनन् । घिमिरेका अनुसार कालिमाटी तरकारी बजारमा साढे दुई सयदेखि तीन सय मेट्रिकटन तरकारी कम भित्रिएको छ । ‘यो समय भनेको कालिमाटीमा ६ देखि सात सय टन तरकारी खपत हुने समय हो, तर अहिले जम्मा साढे चारदेखि पाँच सय मेट्रिकटन मात्र बजारमा आएको छ,’ उनले भने, ‘बल्खुमा सय, बानेश्वरमा सय टन तरकारी कम आइरहेको छ ।’ उनका अनुसार बल्खुमा एक सय टन खपत हुनेमा ५० टन र बानेश्वरमा डेढ सय टन खपत हुनेमा जम्मा ४०–५० टन मात्र तरकारी आएको छ । कृषि विकास मन्त्रालयका अनुसार अहिले बर्खे बेमौसमी तरकारी तरकारीको प्रशस्तै उत्पादन हुने सिजन हो । यो बेला तरकारी अघिपछिभन्दा केही सस्तो हुनुपर्ने हो । तर, किसानको बारीमा उत्पादित तरकारी बजार जान सकेको छैन । ‘उत्पादनका हिसाबले त यो समयमा धेरै उत्पादन छ,’ कृषि विकास मन्त्रालयका वरिष्ठ कृषि तथ्यांक अधिकृत हेमराज रेग्मीले भने, ‘तर बन्दका कारण तरकारी बजारमा जान नसक्दा समस्या हुने बेला भयो ।’ नेपालमा तरकारी प्रशस्तै उत्पादन हुने भए पनि यो सिजनमा १५–२० प्रतिशत तरकारी भारतबाट आउने गथ्र्यो । तर, नाकाबन्दीका कारण सो तरकारी पनि आउन सकेको छैन । किसानलाई कुहेर घाटा लाग्ने र उपभोक्तालाई चर्को मूल्यका कारण मर्का परेपछि ढुवानी सहज गराउन माग गरिएको भए पनि सरकारी निकायबाट बेवास्ता गरिएको व्यवसायीले बताएका छन् । ‘तरकारी ढुवानीका साधनलाई सहज बनाउन र नियमित तेल उपलब्ध गराउन पटक–पटक कुरा राखेका छौँ ।’ तरकारी व्यवसायी महासंघका अध्यक्ष घिमिरेले भन्छन्, ‘दिनहुँजसो गृहमा छलफल भैरहेको छ, तर केही पहल हुन सकेको छैन ।’

साभार: रातोपाटि

तपाईको प्रतिक्रिया

trusted online casino malaysia