धरान, १७ असोज / कर्मा पूजा २०७२ को अवसरमा उरांव झांगड जातिको जातिय संस्था “नेपाल उरांव झांगड कोड्रेम सुध्रारा कार्य गुठीयारा आ” केन्द्रिय समितिले सुनसरीको मधुवनमा कर्मा पूजा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आइतबार सम्पन्न भएकाे छ ।
कार्यक्रममा अधिकांस बक्ताहरूले कर्मा पूजालाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्ने, संविधान संशोधन गरी समानुपाति प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, वैज्ञानिक र व्यवहारिक ढंगले सिमांकन गर्नुपर्ने, लोपोन्मुख, सिमान्तकृत र अति सिमान्तकृत जनसमुदाय लगायत आदिवासी जनजातिहरुको भाषा, संस्कार, संस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने बताए । उनीहरुले संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्ष संस्थागत गरी संविधान जारी हुनु संविधानको राम्रो पक्ष रहेको बताए ।
सो अवसरमा मधुवन, पश्चिम कुशाहा र पूर्व कुशाहाका उरांव झांगडहरुले उत्कृष्ट झांकी, नृत्य र गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका सुनसरी अध्यक्ष कर्ण तमु, उरांव अगुवाहरु श्रीलाल उरांव, शिवलाल उरांव, कमल नारायण उरांव, मोतिलाल उरांव, शयामलाल उरांव, नारायण उरांव, केशव उरांव, हजारी उरांव, रामलाल उरांव, पुरन झांगड लगायतको उपस्थिति रहेको थियो ।
पछिल्लो समयमा आएर सम्पूर्ण उरांव झांगडहरु एकै ठाउंमा भेला भई पूजाको थान बनाएर सामुहिक रुपले कर्मा पूजा गर्ने, शुभकामना आदन–प्रदान गर्ने र सांस्कृतिक कार्यक्रमहरु गर्न थालेका छन् । यसलाई बोलीचालीमा कर्माधर्मा पनि भन्ने गरिन्छ । कर्मा पूजा गर्नाले सन्तान प्राप्त हुने, रोगव्याधी, दुःख, कष्ट हटेर जाने र लामो समयदेखि टाढाटाढा गएका÷हराएका आफन्तहरु फर्केर आउने उरांव झांगड जातिको विश्वास रहेको छ ।