Ambar-Gurung

२५ जेठ, काठमाडौं । नेपाली गीत–सङ्गीत क्षेत्रको सगरमाथा आज नेपाली माझ छैन । उनको सिर्जना हाम्रो सामु छ तर भौतिक शरीरले विश्राम लिएको छ । धेरैका आँखा रसाएका छन् । धेरैले आफूलाई टुहुरो भएको अनुभव गरेका छन् ।

जीवनका कालखण्डमा अनेकौं हन्डर र ठक्कर बेहोरेका र स्पातिलो बनाएका व्यक्तित्व अम्बर गुरुङको भौतिक शरीरले अन्तिम श्वास फेर्दा धेरैलाई पत्यार लागेको थिएन । तर जुन पत्यार लागेको थिएन आखिर भइदियो त्यही । गुरुङ भौतिक रुपमा हाम्रो माझ छैनन् तर उहाँको सिर्जनाले नेपाली मात्रलाई युगौैंयुगसम्म सम्झने बनाइदिएको छ । ‘यो नेपाली शिर उचाली’ जस्ता राष्ट्रवादी गीत नै किन नहोस् पछिल्लो पटक नेपाली राष्ट्रगान बनाउन उनले दिएको योगदान अविस्मरणीय रहेको छ ।

गीतकार, कवि तथा उहाँको जीवनकालमा सहयात्रा गरेका धेरैले उनलाई नेपाली गीत–सङ्गीतको सगरमाथाको विशेषण दिएका दिएका छन् । उनलाई महारथीको समेत पदवी अर्पण गरिएको छ । राष्ट्रगानका रचनाकार व्याकुल माइलाले उनलाई नेपाली सङ्गीत क्षेत्रको शिखर पुरुषको संज्ञा दिँदै भन्छन्, ‘विसं २०६४ को जेठ महिनाको अन्तिमसाता वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले आफ्नो निवासमा बोलाउनुभयो । मलाई सोध्नुभयो माइला लौ यस्तो हुने भयो है सङ्गीत ।’माइलाले भने, ‘उहाँले मलाई हार्मोनियम बजाएर गीत सुनाउनुभयो । मलाई लाग्यो यति मीठो र मधुर सङ्गीत कसरी बन्यो होला । खुसीको कुनै सीमा नै थिएन ।’

‘मुलुक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा सरकारले नयाँ राष्ट्र गानको माग गर्यो म पनि सहभागी भएको थिएँ, सफल हुन्छु हुन्न भन्दा पनि सहभागिता जनाउने कुरा नै महत्वपूर्ण थियो,’ माइला स्मरण  गर्छन् । गुरुङ छनोट समितिमा समेत थिए । उनले विभिन्न १४ वटा धुन बनाएका थिए । त्यसमध्ये तीनवटा धुन उत्कृष्ठ ठहर गरिएको थियो ।‘मेरो गीत छनोट भएको त्यसमाथि उनजस्तो सङ्गीत मर्मज्ञले सङ्गीत गर्ने कुराले ममा खुसीको सीमा थिएन,’ माइलाले भने ।

नेपाली गीत–सङ्गीत क्षेत्रले एउटा भीमकाय हस्ती गुमाएको माइला ठान्छन् । उनले भने, ‘यति उच्च कोटिको सर्जक पाउन मुस्किल छ, नेपाली साङ्गीतिक क्षेत्र र मलाई आज असाध्यै पीडा भएको छ ।’कवि तीर्थ श्रेष्ठको एउटा धोको बाँकी रह्यो गुरुङसँग । दुईवटा गीतमा सङ्गीत गराउने इच्छा उहाँको निधनसँगै सेलाएको छ । श्रेष्ठले भने, ‘विसं २०६८ मा उहाँको निवासमा गीतको कुरा भइरहेको बेला लौ तीर्थ तिम्रो गीत देउ सङ्गीत गर्नुपर्यो भन्नुभयो । मैले उहाँलाई दुईवटा गीत सुनाए । उहाँले लौ अब तत्कालै सङ्गीत गर्नुपर्यो । उहाँको स्वास्थ्य अवस्थाका कारण त्यो सम्भव हुनसकेन । मेरा लागि ठूलो धोको बाँकी रह्यो ।’

गुरुङलाई सुनाएको गीतको एक अंश श्रेष्ठले राससलाई पनि सुनाए । ‘कतै टाढा जानु थियो सँगै जान्छौ कि, जाने मन हुँदा हुँदा लाजै मान्छौ कि ।’ कवि श्रेष्ठले उनलाई अर्को गीत पनि सुनाएका थिए । त्यो गीत यस्तो थियो – ‘तिमीले नसम्झदैमा म तिमीलाई कहाँ भूल्छु र ।’

नेपालको राष्ट्रिय सदभाव खल्बलिएकामा समेत गुरुङ चिन्तित थिए । नेपालयले नेपालगन्जमा आयोजना गरेको ‘पलेटी’ शृङ्खलापछि उनी डाँको छोडेर नै रोएको कवि श्रेष्ठ स्मरण गर्छन् । गीत–सङ्गीत र रचना तीनवटै क्षेत्रमा उनी सर्वज्ञ थिए । एउटै मान्छे तीनवटै विधामा पोख्त हुने कुरा सामान्य मान्छेका लागि सहज नहुनसक्छ तर गुरुङको हकमा भने सामान्य थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य भएर गुरुङसँगै काम गरेका यज्ञबहादुर उपाध्याय आफ्नो स्वाभिमान कुनै पनि अवस्थामा डगाउन नचाहने व्यक्तिको रुपमा उनलाई स्मरण गर्छन् ।

गीतकार चाँदनी शाहको गीतलाई गीत नै नभएको भनेर च्यातिदिनसक्ने क्षमता गुरुङमा थियो भन्छन् उपाध्याय । गीतकार शाहको गीतमा सङ्गीत भर्ने र गाउने होडबाजी चलेको बेला दरबारका सचिवकै अगाडि गीत च्यातिदिएको आफूहरुसँग गुरुङले बताएको स्मरण गर्दै उपाध्यायले भने, ‘राजा महेन्द्रले दार्जिलिङबाट ल्याउनुभएको भए पनि दरबारको शक्ति र प्रभावमा कहिल्यै नपरेको र भेटघाट पनि त्यति धेरै नगरेको हामीलाई उहाँले पटक-पटक सुनाउनुभएको थियो ।’

एउटै प्रतिष्ठानले गीत–सङ्गीत, कला क्षेत्रमा योगदान गर्न सक्दैन भन्दै उनले नीति निर्मातालाई पटक-पटक सचेत गराएका थिए । विसं २०४२/४३ देखि नै उनको माग थियो – प्रज्ञा प्रतिष्ठानले मात्रै सबै क्षेत्रमा योगदान दिन सक्दैन । विधागत विकास हुनसक्दैन । उनको यो मागले २०६७ वैशाखमा मात्रै साकार रुप पाउन सक्यो ।

उनले गीत–सङ्गतीलाई व्यवसाय बनाएनन्, स
स्तो गीत पनि बनाएनन् । उपाध्याय भन्छन्, ‘गीतलाई व्यवसाय नबनाएका कारण उहाँ जीवनको उत्तरार्धमा चेलाको सहयोगमा बाँच्नुपर्ने अवस्थामा पुग्नुभएको थियो । पैसा कमाउनु भएन नाम मात्रै कमाउनुभयो ।’

गीतलाई सस्तो बनाएको भए चलचित्रमा पनि सङ्गीत गरेर राम्रै पैसा कमाउन सक्थे तर गुरुङको स्वभावले दिएन । त्यसैले उनले सङ्गीत गरेको नौलाखे तारा उदाए भन्ने गीत जस्तै जीवनबाट उनी अस्ताए । भौतिक रुपमा अस्ताए पनि नेपाली गीत– सङ्गीत क्षेत्रले उनलाई कहिल्यै अस्ताउन दिने छैन ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia